बाँकेको कोहलपुर नगरपालिकामा रहेको नगर अस्पतालमा भदौ १ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शुभारम्भ गर्नुभएको स्वास्थ्य बिमा कार्यक्रम भदौ १ गते आइतबारबाट सुरु हुने कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताए ।
प्रमुख आचार्यले नगरवासीलाई सर्वसुलभ र स्वास्थ्यको पहुँचमा ल्याउन नगरपालिकाले सुरु गर्न लागेको बिमा कार्यक्रम देशका केही मात्र पालिकामा सञ्चालनमा रहेको बताए ।
स्थानीय नागरिकलाई सहज र सरल तरिकाले स्वास्थ्य सेवा प्रवाह गर्ने गरी कोहलपुर नगर अस्पतालबाट बिमा कार्यक्रम सुरु गर्न लागिएको प्रमुख आचार्यले बताए ।
कोहलपुरमा रहेको नगर अस्पताललाई गरिब, विपन्न र न्यून आय भएका सर्वसाधारणको उपचारको प्रमुख केन्द्र बनाइने जानकारी दिदै उनले यो अस्पताललाई आवश्यक रहेका केही उपकरण र सेवा सुविधा स्वास्थ्य मन्त्रालयबाट माग गरिएको बताए ।