कञ्चनपुर । ग्रामीण क्षेत्रमा चौबिस घण्टे ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएपछि शुक्लाफाँटा नगरपालिका क्षेत्रका दलित महिलाको सुरक्षित प्रसूति सेवामा पहुँच बढ्दै गएको छ ।
सुरक्षित प्रसूति सेवाका लागि नगर क्षेत्रका पिताम्बर, झलारी, पिपलाडी स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्र बन्साहामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यहाँका दलित तथा अन्य विपन्न महिलाको पहुँच बढ्दै गएको हो ।
आर्थिक वर्ष २०८०र८१ को असार मसान्तसम्म बर्थिङ सेन्टरमा पुगेर सुरक्षित रूपमा प्रसूति गराउने दलित महिलाको सङ्ख्या एक सय १० रहेको छ । आर्थिक अभावका कारण जोखिम मोलेर घरमै सुत्केरी हुने दलित महिला हाल स्वास्थ्य चौकीमा सञ्चालित बर्थिङ सेन्टरमा पुगेर सेवा लिन थालेका स्थानीय अगुवा सिवी लुहारले बताए । उनलेभने, “सुरक्षित प्रसूतिका लागि दलित महिलाले महेन्द्रनगर, धनगढीलगायत क्षेत्रमा पुगेर सेवा लिनुपर्ने बाध्यता थियो । हाल नगर क्षेत्रमै बर्थिङ सेन्टर सञ्चालनमा आएपछि सहज भएको छ ।”
नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत अधिकृत हरि नाथले नगर क्षेत्रमै दक्ष तालिम प्राप्त स्वास्थ्यकर्मीले सेवा दिन थालेपछि दलितलयात विपन्न समुदाय लाभान्वित भएको बताए । “जटिल प्रकृति प्रसूति समस्या भए मात्रै अन्यत्र पठाउने गरेका छौँ । सामान्य खाले प्रसूतिका लागि बर्थिङ सेन्टरमा सहज रूपमा सेवा प्रदान भइरहेको छ”, उनले भने । बर्थिङ सेन्टर सञ्चालनले मातृ र नवजात शिशु मृत्युदरमा समेत उल्लेख सुधार भएको र घरमै सुत्केरी हुने महिलाको सङ्ख्या हाल शून्य रहेको नाथले बताए । उनकानुसार बर्थिङ सेन्टरमा सुरक्षित प्रसूति हुने महिलाको घरमै पुगेर आमा र शिशुको अवस्थाबारे जानकारी लिने र केही स्वास्थ्यसम्बन्धी समस्या भए समाधानका उपायबारे बताउने गरिएको छ ।
यसैगरी, बर्थिङ सेन्टरमा आब ०८०/८१ को असार मसान्तसम्म आदिवासी जनजाति समुदायका ९०, मुस्लिम समुदायका एकजना र बाहुन क्षेत्रीका दुई सय २९ जनाले प्रसूति सेवा लिएका छन् ।