काठमाडौं । अमेरिकाको भर्जिनियामा बेपत्ता नेपाली नर्स ममता काफ्लेको शव लुकाएको अभियोगमा पक्राउ परेका श्रीमान् नरेश भट्टलाई बिहिबार अदालतमा पुनः उपस्थित गराइने भएको छ । ग्रान्ड जुरीको समेत अधिकार त्याग्नका लागि न्यायाधीशसमक्ष अनुरोध गर्दै नरेशका वकिलबाट दायर गरिएको मोशनका सन्दर्भमा हुने सुनुवाईमा उनलाई अदालतमा उपस्थीत गराइने भएको हो ।

बिहिबार विहान १० बजेका लागि सुनुवाई तोकिएको छ । ममता बेपत्ता घटनाको अनुसन्धान गरिरहेको भर्जिनियाको मनासस पार्क प्रहरीले शुक्रबार सिग्नल हिल पार्कमा खोजी गरेको थियो ।
अधिकारीहरूले थप प्रमाणहरू खोज्न क्रमम जारी राखेका छन् । ममता काफलेको शव लुकाएको अभियोगमा पक्राउ परेका श्रीमान् नरेशमाथि थप अभियोगहरु लाग्नसक्ने प्रहरीले जनाएको छ ।
यस अगाडि भएको सुनुवाईमा नरेशका वकिलले अदालतले धरौटीमा रिहा गर्न माग गरेका थिए र तर अदालतले अस्वीकार गरेको थियो । नरेशले आफ्नो कामको कम्प्युटरमा श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे गुगल गरेको पत्ता लागेको अभियोजकले अदालतमा बताएका थिए ।

प्रहरीले घरमा खानतलासी गर्दा मास्टर बेडरूममा रगतका निशानहरू फेला परेका तथा बेडरुमबाट बाथरूमसम्म केही घिसारिएको पत्ता लागेको अदालतमा बताएका थिए ।

नरेशले जुलाई ३० मा तीनवटा चक्कु र जुलाई ३१ मा सरसफाइका सामग्री फरक–फरक स्थानबाट खरिद गरेको समेत खुलेको थियो । अनुसन्धानकर्ताहरुले अझै २ वटा चक्कुहरु फेला पारेका छैनन् ।

सरसफाईका सामाग्रीहरु अपराध स्थल सफा गर्न प्रयोग गरेको हुनसक्ने अधिकारीहरूले आशंका गरेका छन् । मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेशसँग कुरा गर्दा उनले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् । अगस्ट ५ मा मात्र नरेशले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए ।

ममता काफ्लेकी आमा र दाजु अमेरिकाको भर्जिनिया पुगेका छन् । २०७७ सालमा पनौतीमा धुमधामसँग नरेश र ममताबीच विवाह बन्धनमा बाधिएका थिए । विवाहको केही समयपछि ममता अमेरिका गएकी थिइन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0