काठमाडौं । काठमाडौँ उपत्यकाको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको छ । खानेपानी मन्त्रालयका सहसचिव कृष्णप्रसाद आचार्यले यसअघि प्रायः तराईका जिल्लाको पानीमा निर्धारित मापदण्डभन्दा बढी भेटिने आर्सेनिक काठमाडौँ उपत्यकामा समेत भेटिएको बताए ।
उनका अनुसार ललितपुरको इमाडोल, टीकाथली, बाँझेपोखरी, सानेपा, काठमाडौँको बल्खु, स्युचाटार र भक्तपुरको बालकोट क्षेत्रको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको छ ।
पानीमा न्यूनतम एकदेखि अधिकतम दुई सय पिपिबीसम्म आर्सेनिकको मात्रा भेटिएको उनले जानकारी दिए । उनले भने , ‘स्यालो ट्युबवेल र ‘डिप ट्युबवेल’ को पानी परीक्षणका क्रममा पानीमा आर्सेनिकको मात्रा बढी पाइएको छ ।’
सतहको पानी, खोलाको पानी र मूलको पानीमा आर्सेनिक नहुने तर भूमिगत पानीमा मात्र आर्सेनिक पाइने उनको भनाई छ । उनले भने,’काठमाडौँ उपत्यकाका अन्य क्षेत्रको पानीमा अहिलेसम्म मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको छैन् ।’