विश्वभरका नै मानिसमा शरीरलाई सुगन्धित बनाउन परफ्युम अर्थात् अत्तर प्रयोग गर्ने चलन बढ्दो छ । तर परफ्युमको प्रचलन कसरी सुरु भयो र यो के-केबाट बनेको हुन्छ भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ ।
प्राय: मानिसले परफ्युमको प्रयोग सुगन्धको लागि गर्छन् । तर सुगन्ध मात्र होइन, यसको प्रयोगका अन्य फाइदा पनि धेरै छन् ।
इतिहासकारहरू भन्छन्- ‘परफ्युमको सुरुवात एक प्रकारको सुगन्धित जडिबुटी र जराको खोजबाट भएको थियो ।’मेसोपोटामियाकी टप्पुती नामकी रसायन विज्ञले सबैभन्दा पहिले परफ्युमको निर्माण गरेकी हुन् ।
उनले तेल र फूल मिसाएर पहिलो परफ्युम बनाएको बताइएको छ । त्यहाँपछि परफ्युम विश्वव्यापी भयो । धार्मिक अनुष्ठानदेखि दैनिक जीवन र मृतकको अन्त्येष्टिमा समेत परफ्युमको प्रयोग गरिन्थ्यो । इजिप्टमा शाही चिहानका भित्ताहरूमा परफ्युमका चित्रहरु राखिन्थ्यो ।
परफ्युम व्यवसायी इना सेन्टरका प्रबन्ध निर्देशक उद्धव बर्तौलाले परफ्युम किन र कसरी लगाउने भन्ने विषयमा नेपालीहरू बिस्तारै सचेत हुँदै गएको बताए ।नेपाली बजारमा दुई हजारदेखि २० हजार रुपैयाँसम्मको परफ्युम पाइने उनी बताउँछन् ।
पेरिसमा सन् १३७० मा व्यावसायिक रूपमा परफ्युमको उत्पादन सुरु भयो । यहींबाट आधुनिक परफ्युमको सुरुवात भएको थियो ।